निषेधाज्ञामा अपाङ्गता भएका महिलामाथि यौन अपराध बढ्यो !!

 ३१ वैशाख, काठमाडौं । कोरोना संक्रमण फैलन नदिन जारी गरिएको निषेधाज्ञामा अपांगता भएका महिला, बालिका, किशोरी यौन हिंसा तथा बलात्कारमा पर्ने क्रम बढेको छ ।


घटना–१

महोत्तरी जिल्ला लोहरपट्टीकी बहुअपांगता भएकी २० वर्षीय सानुकुमारी कुर्मी (परिवर्तित नाम) गत वैशाख २६ गते घरमै बलात्कृत भइन् । बोल्न नसक्ने, अरूले बोलेको राम्रोसँग बुझ्न नसक्ने, हिंडडुल गर्न नसक्ने उनलाई छिमेकी ताहिर सेखले बलात्कार गरेका थिए । ट्याक्टर चालक ताहिरले गहुँ बजार लगिदिएको भाडा लिन आउँदा सानुकुमारी घरमा एक्लै रहेको भेटेर उक्त अपराध गरेका थिए । बेलुका आमाबुवा आएपछि सानुकुमारीले आफूमाथि भएको अपराध हातको इशाराले बताउन खोजिन्, तर बुझाउन सकिनन् । भोलिपल्ट फेरि आएका ताहिरलाई हातले देखाउँदै सानुकुमारी आत्तिंदै रुन थालेपछि ऊ भाग्यो । त्यसपछि मात्र आमाबुवाले छोरीमाथि बलात्कार भएको थाहा पाएर समाजसँग के गर्ने भनेर सल्लाह मागे । तीमध्ये धेरैजसोले समझदारी गरेर जानुपर्ने बताएपछि बुबाआमा सीधै जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुगे । पीडक ताहिर भने अझै फरार छन् ।


                          घटना–२
त्यसअघि वैशाख १६ गते दिउँसो सर्लाही हरिवनकी २८ वर्षीय मुना कार्की (परिवर्तित नाम) बलात्कारमा परिन् । बोल्न र सुन्न नसक्ने उनलाई हावाले झारेको आँप टिप्न गएको बेला बलात्कार गरेका छिमेकी राकेश पौडेल फरार छन् । त्यो घटनापछि मुनामा मानसिक समस्या थपिएको छ । नीलो रङको लुगा लगाएका पुरुष देख्नासाथ उनी चिच्याउँछिन् । बलात्कार गर्दा राकेश पौडेलले नीलो कपडा लगाएका थिए ।

                             घटना–३
त्यसअघि ९ वैशाखमा बनेपाको भैंसेपाटीमा बौद्धिक अपांगता (डाउन सिन्ड्रोम) भएकी २७ वर्षीया लीला तामाङ (परिवर्तित नाम) बलात्कृत भइन् । काममा गएकी आमा छोरीलाई खाजा खुवाउन डेरा आउँदा छिमेकी ठूलोकान्छा भन्ने देव दोर्जे लामाले बलात्कार गरेको भेटेपछि छिमेकीको सहयोगमा पक्राउ गरी बनेपा प्रहरीमा बुझाएका थिए । पीडक लामा वैशाख ३० गते कारागार चलान भएका छन् । उल्लिखित तीन घटना वैशाखभित्रका हुन् । यी घटनाले अपांगता भएका महिलाहरू कति जोखिममा छन् भन्ने देखाउँछ ।

नेपाल अपांग महिला संघकी अध्यक्ष टीका दाहाल पोहोर लकडाउन शुरू भएयता अपांगता भएका २६ महिला यौन हिंसा तथा बलात्कारमा परेको बताउँछिन् । कोरोना संकटले अपांगता भएका महिलाहरूलाई थप जोखिममा पारेको उनको भनाइ छ । लकडाउनमा बढेको बेरोजगारीले आपराधिक मनोवृत्ति भएका पुरुषलाई हिंस्रक बनाएको उनी बताउँछिन् ।


Post a Comment

Previous Post Next Post