कोभिड-१९ बाट बिरामी भएर अस्पताल जानुपर्ने अवस्था आए के गर्ने?

 वैशाख २२, २०७८ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'थेग्नै नसक्नेगरी कोभिड सङ्क्रमण बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको' बताएपछि अबको अवस्थामा के गर्ने भन्ने विषयबारे सर्वसाधारणहरू अन्योलमा देखिन्छन्।

मन्त्रालयले आइतवार २४ घण्टाको अवधिमा देशभरि थप ७,२११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको थियो। उक्त सङ्ख्या एकैदिन सार्वजनिक गरिएको अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो।




एन्टिजन र पीसीआर विधिबाट गरी कुल १६,७०० भन्दा केही बढी परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

दिनानुदिन तीव्र गतिमा सङ्क्रमण बढ्नाले कोभिड-१९ का कारण अस्पताल नै जानुपर्नेगरी बिरामी परे के गर्ने भन्ने विषयबारे सर्वसाधारणहरूको कौतूहल बढाइदिएको छ।

कोभिडको लक्षण देखिए अहिलेको अवस्थामा के गर्ने?

परीक्षण गर्दा पोजेटिभ देखिए, नेगेटिभ भए पनि लक्षण देखिए वा गाह्रो महसुस भए ११३३ र १११५ नम्बरको हटलाइन सेवामा सम्पर्क गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसबाहेक ९८५१२५५८३९, ९८५१२५५८३७ नम्बरका मोबाइल नम्बरबाट चौबीसै घण्टा चिकित्सकहरूले सल्लाह दिने गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी बताउँछन्।
"आफूलाई लक्षण के छ, आफूलाई गाह्रो के भएको छ भनेर त्यहाँ सम्पर्क गर्न सक्छौँ। त्यो गर्दा चिकित्सकले घरमै बस्दा गर्न सकिने उपाय भन्नुहुन्छ भने नजिकमा कुन स्वास्थ्यसंस्थामा (शय्या) खाली छ भन्ने कुराको प्रबन्ध गरिदिनुहुन्छ," उनले भने।


चिकित्सकहरूको सुझावबिना कुनै पनि औषधि प्रयोग गर्न नहुने अधिकारी बताउँछन्।

मन्त्रालयले विभिन्न अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको नम्बर सार्वजनिक गरेर सेवा लिन पाउने प्रबन्धहरू गर्न अस्पतालहरूलाई निर्देशन दिइसकेको र धेरै अस्पतालहरूले तदनुसार प्रबन्ध गरेको दाबी गरे।


Post a Comment

Previous Post Next Post