सोमबार बिहान कर्णाली प्रदेश अस्पतालको ‘कोभिड अस्पताल’ मा देखिएको यो छटपटी कोरोनाबाट मृत्यु भएका चिङ्गाड गाउँपालिका-२ का प्रेम बिकका बुबा र भाउजुको हो।
अस्पतालबाट शव लिन आएका शववाहन र सेनाको ट्रकलाई उनका बुवा सेते कामीले नियालिरहेका थिए।
लास त अब यसैले लाने होला,’ सेनाको ट्रक देखाउँदै उनले भने, ‘हामी केमा जाने हो, गाडी बन्द छन्। रिजर्भ गरी लैजाने क्षमता हाम्रो छैन।’
उनीहरूलाई अर्को पनि चिन्ता थियो- लास जलाउने चिता कसरी बनाउने? यसैका लागि प्रेमकी भाउजु कमलाले बारम्बार आफन्तलाई फोन गरिरहेकी थिइन्। उनका घरबाट आफन्त आउन सक्ने सम्भावना थिएन।
चार महिनाअघि प्रेम भारतको गुजरात प्रान्तको राजकोटमा मजदुरी गर्न गएका थिए।
घरमा प्रेमका २ छोरी छन्। एक छोरी ९ वर्षकी भइन्। अर्की ९ महिनाकी। उनलाई ज्वरो, खोकी भएकाले घरमा कसैलाई नछोएर अलग्गै बसेका थिए।
गाह्रो हुँदै गएपछि परिवारले घरमै स्वास्थ्यकर्मी बोलाएर उपचार गर्ने प्रयास गरे।
त्यसले कुनै पार नलागेर वैशाख १२ गते कर्णाली प्रदेश अस्पतालमा ल्याइएको थियो।
‘साह्रै गाह्रो भयो, बाटोमा ल्याउँदा पनि मर्लाजस्तो अवस्था भएको थियो,’ प्रेमका बुवाले भने, ‘कोरोना भएको रहेछ, छोरालाई लगिहाल्यो नि!’
आइतबार राति मृत्यु भएका प्रेम २६ वर्षका मात्र थिए। उनका दुई दाजुभाइ छन्। भारतमै गएका उनीमध्ये भाइ घर आइसकेका छन्। दाइ आउन लागेका छन्।
‘कोरोना बढेको छ भनेर बच्न घर आउनुभयो, यहाँ पनि यही रोगले लग्यो,’ कमलाले भनिन्। प्रेमलाई यसअघि कुनै पनि समस्या नभएको उनले बताइन्।
छोरी सानी भएकाले अस्पतालमा प्रेमलाई सहयोग गर्न श्रीमती आउन पाइनन्। उनका भाउजु र बुवा कुरूवाका रूपमा अस्पताल आएका थिए।