भद्रपुरबाट काठमाडौंसम्मको हवाई भाडादार अहिलेसम्मकै सस्तो

 झापाको भद्रपुरबाट काठमाडौंसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ।

अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौं उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ।



कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो।

सामान्यतया भद्रपुर–काठमाडौंको भाडादर न्यूनतम् रु तीन हजार रहने गरेको छ।कोरोनाको सङ्क्रमणको त्रास बढेका कारण राजधानी जाने क्रम ह्वात्तै घटेको छ’, खनालले भने, ‘काठमाडौंबाट आउनेहरूको भने चाप बढेको छ।’ 

काठमाडौंबाट भद्रपुर आउँदाको हवाई भाडादर बढेर रु चार हजारदेखि रु नौ हजार २५० सम्म पुगेको छ।

भद्रपुरको चन्द्रगढी विमानस्थल २०२८ सालमा स्थापना भएको हो। तर २०३० सालमा आन्तरिक कारणबाट विमानस्थल बन्द भयो। त्यसपछि एकैचोटि २०४८ साल चैत १८ गते मात्र विमानस्थल खुलेको थियो।

२०४८ सालमा विमानस्थल खुलेको पहिलो दिन आफूले नै रु एक हजार ७८० मा शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट काटेको स्मरण गर्दै अनिमेष ट्राभल्सका सञ्चालक खनालले भने, ‘भद्रपुर–काठमाडौं रुटको आजको भाडादर इतिहासमै सबैभन्दा सस्तो हो।’


कोभिड–१९ को महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलायन्सहरुले हवाई उडानसमेत कटौती गर्न थालेका छन्।

शुक्रबारदेखि भद्रपुर–काठमाडौं रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौती गरिसकेको छ।

यति एयरले तीन उडानमध्ये एउटा कटौती गरेको छ। श्रीएयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ।

यसअघि हरेक दसैं-तिहारका बेला काठमाडौंबाट आउने यात्रु अत्यधिक हुने तर जाने यात्रु घट्ने भएका कारण हवाई सेवा प्रदायक कम्पनीहरूले भद्रपुर–काठमाडौंको भाडादर घटाएर रु एक हजार ६०० सम्म पुर्‍याउने गरेका थिए।

Post a Comment

Previous Post Next Post